लोकप्रियतावाद पुँजीवादी विचारकै एक आयामः वक्ताहरू
काठमाडौँ, २३ कार्तिक। लोकप्रियतावाद पुँजीवादी विचारकै एउटा आयाम भएकोमा वक्ताहरूले जोड दिएका छन्।
मार्क्सवादी ज्ञान केन्द्र गण्डकी प्रदेशको आयोजनामा बिहीबार पोखरामा आयोजित लोकप्रियतावादः सिद्धान्त, समस्या र समाधान विषयक डिस्कोर्समा बोल्दै वक्ताहरूले उक्त कुरामा जोड दिएका हुन्।
कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य माधव सापकोटाले लोकप्रियतावाद कुनै दर्शन र सिद्धान्त नभएर जनमत आफूतर्फ तान्न क्षणिक रूपमा अगाडि आएको दृष्टिकोण भएको बताउनुभयो।
डिस्कोर्समा उहाँले भन्नुभयो, ‘‘लोकप्रियतावाद कुनै दर्शन होइन, सिद्धान्त पनि होइन। शक्ति आर्जनका निम्ति यसले जनताका मुद्दा उठाउँछ, व्यवस्थामाथि प्रहार गर्छ। यसले समस्याको उठान चाहिँ गर्छ। तर, समाधान दिन सक्दैन।’’
लोकप्रियतावादी विचार र कार्यक्रमले नेपाली राजनीतिसमेत प्रभावित गरिरहेकोमा जोड दिँदै सांसद सापकोटाले दलहरूले दीर्घकालीन नीति, योजना र कार्यक्रम एवं जनविश्वासमार्फत यस्तो प्रवृत्तिलाई पराजित गर्नुपर्नेमा जोड दिनुभयो।
डिस्कोर्समा एकीकृत समाजवादीका सचिव श्रीनाथ बरालले लोकप्रियतावादी राजनीति ठूला दलहरूको असफलता र संक्रमणकालको कारक भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘ठूला दलहरूले जनतामा विश्वासको वातावरण सिर्जना गरेर मात्र यस्तो प्रवृत्ति निरूत्साहित गर्न सकिन्छ।’’
कार्यक्रममा नेकपाका पोलिटब्यूरो सदस्य आस्था सीले लोकप्रियतावाद पुँजीवादी दर्शनकै एक आयाम भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘रूप पक्षबाट हेर्दा लोकप्रियतावाद अलग्गै दृष्टिकोण हो कि भन्ने पनि लाग्न सक्छ। तर, जे–जे भने पनि यो पुँजीवादी विचारकै एउटा रूप हो। यसले अन्ततः पुँजीवादी राजनीतिक प्रणालीकै सेवा गर्दछ।’’
अर्का वक्ता मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाले लोकप्रिय र लोकप्रियतावाद एउटै नभएको बताउनुभयो। ‘‘लोकप्रिय हुनु राम्रो कुरा हो। तर, लोकप्रियतावादी राजनीति राम्रो कुरा होइन’’ तिमिल्सिनाले भन्नुभयो, ‘‘लोकप्रियतावाद र अन्धराष्ट्रवाद एउटै सिक्का दुईटा पाटा हुन्। यी दुवैले अधिनायकवादी विचार र प्रवृत्तिको वकालत गर्दछन्। व्यक्तिपूजामा जोड दिन्छन्। तत्कालको लाभ हेर्छन्, दीर्घकालको परिणाम हेर्दैनन्।’’
वाम बुद्धिजीवी एवं मार्क्सवादी ज्ञान केन्द्रका सल्लाहकार रामराज रेग्मीले लोकप्रियतावादी राजनीतिले जनतामा भ्रम मात्रै सिर्जना हुने बताउनुभयो। त्यस्तै त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक भीमनाथ बरालले लोकप्रियतावादका आंशिक लाभहरू भए पनि दीर्घकालमा यसले व्यवस्थामाथि संकट ल्याउनेमा जोड दिनुभयो।
Comments
Post a Comment