अनुसन्धानका बाँकी काम एक महिनाभित्र टुङ्ग्याउने निर्णय
काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रले अघिल्लो वर्षको बाँकी अनुसन्धानका कार्य तीव्र गतिमा अगाडि बढाउने निर्णय गरेको छ। सोमबार साँझ भर्चुअल माध्यमबाट बसेको अनुसन्धान कार्य सम्पन्न गर्न गठित कार्यदलको बैठकले अनुसन्धानका बाँकी कार्य एक महिनाभित्र निष्कर्षतर्फ लैजाने निर्णय गरेको छ।
बैठकले त्यसको लागि कार्यदलका सदस्यहरूको केही जिम्मेवारीमा हेरफेर र जिम्मेवारी तोक्ने काम पनि गरेको छ। अनुसन्धानका कामलाई निष्कर्षमा पुर्याउन मार्क्सवादी ज्ञान केन्द्रमा आवद्ध विज्ञहरूको सहयोग लिने पनि निर्णय गरेको छ। अनुसन्धानका विषयवस्तुमा अभिमत लिने कार्यको जिम्मेवारी कार्यदलका सदस्य दुस्यान्त भट्टराई र आस्था घिमिरेलाई सुम्पिएको छ।
त्यस्तै, अनुसन्धानका विषयहरूको पाण्डुलिपि र शोध आलेख लेखन कार्यको लागि कार्यदलका सदस्यहरू अध्यक्ष तिमिल्सिना, डा. निमानन्द रिजाल, विशेश्वर कट्टेल, जानुका पराजुली, त्रिविक्रम ज्ञवाली र रेशमकुमार अधिकारीलाई जिम्मेवारी तोकेको छ। जिम्मेवारी पुरा गर्न मङ्सिर २५ गतेसम्मको समय दिइएको छ।
बैठकमा अध्यक्ष तिमिल्सिनाले अनुसन्धानका कार्यलाई सम्पन्न गर्न जिम्मेवार ढङ्गले लाग्न निर्देशन दिनुभयो। उहाँले प्राप्त शोधपत्रलाई प्रकाशन गरिने जानकारी दिनुभयो। लामो समयदेखि बाँकी रहेका अनुसन्धान कार्यलाई सम्पन्न गर्न अब ढिलाइ गर्न नहुनेमा अध्यक्ष तिमिल्सनाको जोड थियो। बैठकमा सहभागी कार्यदलका सदस्यहरूले पनि प्राप्त जिम्मेवारीअनुसार अनुसन्धानका कार्यलाई प्रभावकारी ढङ्गले टुङ्ग्याउन प्रतिबद्धता जनाउनु भएको थियो।
Comments
Post a Comment