वामपन्थीहरू समीक्षात्मक ढङ्गले अगाडि बढ्नुपर्नेमा जोड


काठमाडौं। नेपाल कम्युनिष्ट आन्दोलनका उपलब्धिको रक्षा गर्दै कमीकमजोरी सुधारको पक्षमा वामपन्थी दलहरू केन्द्रित हुनुपर्नेमा वक्ताहरूले जोड दिनुभएको छ। मार्क्सवादी ज्ञान केन्द्र कोशी प्रदेशको आयोजनामा शुक्रबार भर्चुअल माध्यममा आयोजित पूर्वी नेपालमा कम्युनिष्ट आन्दोलन : चुनौती र समाधान विषयक अन्तर्क्रियामा बोल्दै वक्ताहरूले उक्त कुरामा जोड दिनुभएको हो। कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्‍याउन वामपन्थीहरू समीक्षात्मक ढङ्गले अगाडि बढ्नुपर्ने उहाँहरुको धारणा छ।

कार्यक्रममा मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाले नेपालका ठूला राजनीतिक परिवर्तनमा कम्युनिष्ट आन्दोलनको भूमिका अहम् रहेको बताउनुभयो। आन्दोलनमा केही कमजोरी देखिए पनि सर्वहारा वर्गको हक अधिकार स्थापित गर्न सफल भएको उहाँको भनाइ थियो। यद्यपि स्थापित हक अधिकारलाई कार्यान्वयनमा भने कमजोरी देखिएको बताउनुभयो। अध्यक्ष तिमिल्सिनाले कम्युनिष्ट नेतृत्वको आचार व्यवहारका कारण पनि त्यसमा समस्या देखा परेको बताउनुभयो। 

कम्युनिष्ट आन्दोलनमा आचार व्यवहारको विषय अब छलफलको विषय बन्नुपर्ने उहाँको धारणा थियो। 'सिद्धान्त र चिन्तन मिलाउन आवश्यक छ। त्यसपछि मात्र सिद्धान्त र व्यवहार मिल्छ। तर, मुख्य कुरा रूपान्तरणको प्रश्न पनि महत्त्व पूर्ण छ,' अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, 'कम्युनिष्ट आन्दोलनमा आचार व्यवहारको विषयमा छलफल गर्न आवश्यक छ।'

दलाल पुँजीवादले बेलाबेलामा कम्युनिष्ट आन्दोलनलाई प्रभावित तुल्याउने गरेको उहाँको भनाइ थियो। कम्युनिष्ट नेता कार्यकर्तालाई दलाल पुँजीवादबाट मुक्त गर्न आवश्यक रहेको उहाँले बताउनुभयो। त्यसको लागि हरेक कम्युनिष्ट नेता कार्यकर्ता उद्यमशीलतामा लाग्नुपर्ने उहाँले जोड दिनुभयो।

'राजनीतिक नेता कार्यकर्ता बेरोजगार छन्। राज्यले ठूलो रोजगारी दिन सक्दैन। रोजगारी सिर्जना गर्ने भनेको निजी क्षेत्रबाट हो। त्यसैले पहिले राजनीतिक नेता कार्यकर्ता पहिले उद्यमशीलता गर्नुपर्छ। कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई दलाल पुँजीवादको चङ्गुलबाट मुक्त गर्न उद्यमशीलता आवश्यक छ,' अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, 'एक जनाले दुई जनालाई मात्र रोजगारी दिन सके बेरोजगारीको आधा समस्या समाधान हुन्छ। र त्यहीबाट समाजवादको आधारशिला निर्माण सुरु हुन्छ।'

उहाँले कम्युनिष्ट आन्दोलनको लागि पूर्वी क्षेत्र वैभवशाली क्षेत्रका रुपमा रहेको बताउनुभयो। 'कम्युनिष्ट आन्दोलनका दिग्गज व्यक्तिको उद्गम स्थल हो। साहित्य र जागरणको रुपमा पनि पूर्वी क्षेत्र समृद्ध छ। कम्युनिष्ट आन्दोलनको लागि वैभवशाली क्षेत्र हो,' अध्यक्ष तिमिल्सिनाले भन्नुभयो।

नेकपा (एमाले)का कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले कम्युनिष्ट दर्शनमा आधारित समाजवादका आधारमा एकरूपता ल्याउन र कम्युनिष्ट आन्दोलनका उपलब्धिलाई संस्थागत गरेर अगाडि बढ्न वामपन्थी दलहरुबीच खुला छलफल आवश्यक भएको बताउनुभयो। उहाँले राजनीतिक भ्रष्टाचार रोक्न र नेपाली कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्‍याउन वामपन्थीहरू समीक्षात्मक ढङ्गले अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। नेता खतिवडाले दक्षिणपन्थ र साङ्गठनिक अराजकता कम्युनिष्ट आन्दोलनका चुनौतीको रुपमा देखा परेको उल्लेख गर्नुभयो। साथै कम्युनिष्ट पार्टीमा विभाजन ल्याउने तत्त्वको पहिचान गर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता भएको उहाँको भनाइ थियो।

नेकपा (माओवादी केन्द्र)का कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले कम्युनिष्ट आन्दोलनको नेतृत्व लिन पूर्वी क्षेत्र तयार रहेको बताउनुभयो। उहाँले भन्नुभयो, 'उत्पादन सम्बन्ध र चेतनाको दृष्टिकोणबाट पनि पूर्वी क्षेत्र अगाडि छ। कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशा दिन तयार छ। त्यो इतिहास र वर्तमानले पनि पुष्टि गरेको छ।' 

नेकपा (एकीकृत समाजवादी)का कोशी प्रदेश सचिव महेश रेग्मीले कम्युनिष्ट नेताहरूमा देखिएको सत्ता मोह प्रवृत्तिबाट कम्युनिष्ट आन्दोलन जोखिममा रहेको टिप्पणी गर्नुभएको छ। 'दम्भ र सत्ताको लागि मारामार गर्छौं, सत्ताको चाखनीमा सबै बिर्सन्छौं,' उहाँले भन्नुभयो, 'आदर्शअनुसारको आचरण छैन। सत्ताको लागि गैरशक्तिको सेवामा लाग्छौं। गुटगत कुरा र स्वार्थबाट माथि उठ्न सक्दैनौं। यस्ता गलत प्रवृत्तिबाट नेपालको कम्युनिष्ट आन्दोलन जोखिममा छ। हामीले सिर्जना गरेका आन्दोलनका चुनौतीलाई समयमै निराकरण गर्नतिर लाग्न जरुरी भइसक्यो।'

Comments

धेरै पढिएका

डिस्कोर्समा वक्ताहरूः “शिक्षामा लगानी बढाउँ, ऐन छिटो जारी गरौँ”

निबन्ध लेखन प्रतियोगितासम्बन्धी मार्क्सवादी ज्ञान केन्द्रको सूचना

अभिमुखीकरण बैठकः वार्षिक कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय