भ्रष्टाचार नियन्त्रणको सूत्र नीतिगत सुधार


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री एवं पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न नीतिगत सुधार पहिलो सर्त भएको बताउनु भएको छ। मार्क्सवादी ज्ञान केन्द्रले सुरु गरेको २३ औँ चरणको अनलाइन कक्षाको उद्घाटनका सन्दर्भमा आयोजित 'नेपालमा भ्रष्टाचार : चुनौती र नियन्त्रणका प्रयासहरू' विषयक भर्चुअल डिस्कोर्समा उहाँले यस्तो बताउनु भएको हो।

नीतिगत सुधारको लागि राजनीतिक दल संवेदनशील ढङ्गले लाग्नुपर्ने उहाँको भनाइ थियो। सांसद श्रेष्ठले राजनीतिक अस्थिरताको कारण नीतिगत सुधार हुने अवस्था नरहेको पनि दाबी गर्नुभयो। भ्रष्टाचार नियन्त्रणमा राजनीतिक दलले प्रतिबद्धताका साथ काम गर्न लागे भ्रष्टाचार अन्त्य गरी सुशासन कायम हुने उहाँको विश्वास छ। केही व्यक्तिको स्वार्थका कारण नीतिगत भ्रष्टाचार बढिरहेको चर्चा गर्दै सांसद श्रेष्ठले नीतिगत भ्रष्टाचार रोक्न दलहरूले सांसदहरूलाई नियन्त्रण गर्नसक्ने पर्ने भनाइ राख्नुभयो।

'पार्टीहरूले आफ्ना सांसदलाई भ्रष्टाचार गर्न नदिने हो भने त्यही व्यक्ति संसदमा र त्यही व्यक्ति पार्टीको महत्त्वपूर्ण पदमा हुनुहुन्न। त्यो प्रणालीमा सुधार गर्नुपर्छ,' उहाँले अगाडि भन्नुभयो, 'भ्रष्टाचार नियन्त्रण गर्ने हो भने, सुशासन कायम गर्ने हो भने शक्ति पृथकीकरणको अभ्यास हरेक पार्टीले गर्नै पर्छ। एकै व्यक्ति संसद् र पार्टीको महत्त्वपूर्ण पदमा हुने हो भने कहिल्यै पनि शक्ति सन्तुलन हुँदैन।'

उहाँले सुशासन कायम गर्न राजनीतिक दलको संरचनामा सुधारको आवश्यकता औँल्याउनु भयो। साथै, एक पदमा एक व्यक्तिले कति समय काम गर्न पाउने भन्ने विषय नीतिगत रुपमा टुङ्गो लगाउनुपर्ने उहाँको भनाइ थियो। 'भ्रष्टाचार रोक्ने हो भने कोही पनि व्यक्तिलाई लामो समयसम्म शक्ति केन्द्रमा राख्नु हुँदैन। नीतिगत निर्णय गरेर यसमा सन्तुलन कायम गर्नुपर्छ,' सांसद श्रेष्ठले भन्नुभयो, 'जहिले पनि त्यही व्यक्ति हाबी भइराख्ने, त्यही व्यक्तिको वरिपरिको मानिसहरू हाबी भइराख्ने देखेका छौं। त्यसलाई निरन्तरता दिनुहुँदैन। हरेक पदको निश्चित अवधि राखिनुपर्छ।'

प्रशासकलाई स्वतन्त्र पूर्वक कानुनमा आस्था राखेर काम गर्ने वातावरण बनाउने र दलीय हस्तक्षेप रोक्नुपर्ने श्रेष्ठको धारणा छ। राज्यका संयन्त्रमा दलीयकरणको राज्य संयन्त्र काम गर्ने अवस्थामा नरहेको उल्लेख गर्दै उहाँले सुशासन कायम गर्न राजनीतिक दल गम्भीर हुनुपर्ने बताउनु भयो। सुशासनको लागि राज्य संयन्त्रमा दलीय भागबन्डाको अन्त्य पहिलो सर्त भएको उहाँले बताउनु भयो।

मार्क्सवादी ज्ञान केन्द्रले आफ्नो २३ औँ चरणको अनलाइन कक्षा मंगलबारबाट सुरु गरेको छ। ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाले उक्त कक्षाहरूमा सहभागी हुन आग्रह गर्नुभएको छ। उहाँले कक्षाको पहिलो दिन, जीवनमा दर्शनको महत्त्व, दोस्रो दिन, आजको सन्दर्भमा नेपालको विकाशको बाटो, तेस्रो दिन समाजवादको सामाजिक आयाम, चोथो दिन पुस्ताको विकासक्रम र आजको पुस्ता, पाँचौं दिन विश्व व्यवस्था, बढ्दो वैश्विक ध्रुवीकरण र भविष्य, छैटौं दिन गणतान्त्रिक व्यवस्थामा पाठ्यक्रम र अन्तिम दिनमा वैदिक साहित्य, पूर्वीय दर्शनमा भौतिकवादी धारा लगायतका विषयमा अनलाइन कक्षामा छलफल हुने जानकारी दिनुभयो।

Comments

धेरै पढिएका

निबन्ध लेखन प्रतियोगितासम्बन्धी मार्क्सवादी ज्ञान केन्द्रको सूचना

मार्क्सवादी ज्ञान केन्द्रको अध्यक्षमा पुनः तिमिल्सिना

तेस्रो वार्षिक साधारण सभाबाट पारित प्रतिवेदन (पूर्णपाठ)