मार्क्सवादी ज्ञान केन्द्र साझा बौद्धिक मञ्चका रूपमा स्थापित हुँदैछ (प्रतिवेदनको पूर्णपाठ)
प्रिय प्रतिनिधि/पर्यवेक्षक साथीहरू,
प्रिय प्रतिनिधि/पर्यवेक्षक साथीहरू,
देश र जनताको मुक्ति र परिवर्तनका निम्ति जीवनको बलिदान गर्नुहुने महान् शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ, बेपत्ता योद्धाहरूप्रति उच्च सम्मानसहित स्मरण गर्दछौँ। राजनीतिक परिवर्तनका निम्ति सञ्चालित विभिन्न सङ्घर्षमा घाइते र अङ्गभङ्ग हुनुभएका योद्धाहरूमा सम्मान, शीघ्र स्वास्थ्य लाभ र दीर्घजीवनको कामना गर्दछौँ। परिवर्तनका निम्ति योगदान गर्नुहुने सम्पूर्ण जनसमुदायमा सम्मान प्रकट गर्दछौँ। र, मार्क्सवादी ज्ञान केन्द्रको स्थापना, विकास, बिस्तार, निरन्तरता र गतिशीलताका पक्षमा विभिन्न ढङ्गले योगदान गर्नुहुने सम्पूर्ण राजनीतिक दल, राजनीतिक नेतृत्व, बुद्धिजीवी, सामाजिक व्यक्तित्व, मार्क्सवादी ज्ञान केन्द्रका विभिन्न जिम्मेवारीमा रहनुभएका साथीहरू, आजीवन सदस्यहरू र समस्त अध्येताहरूमा आभारसहित कृतज्ञता प्रकट गर्दछौँ।
अध्ययन संस्कृतिको मुख्य ध्येयका साथ सुरु गरिएको अभियान पाँच वर्ष पूरा गर्दै अगाडि बढिरहेको छ। मार्क्सवादी ज्ञान केन्द्रको विधिवत स्थापना र तत्पश्चात् गरिएका गतिविधि एवं क्रियाकलापले ज्ञान केन्द्र देशभित्र मात्र नभएर विदेशमा रहेका नेपालीहरू बीचसमेत स्थापित हुँदै गएको छ। यस अवधिमा विभिन्न कार्यक्रम र गतिविधिमार्फत यसले कम्युनिस्ट एवं क्रान्तिकारी शुभेच्छुकहरूमा आशाको रक्तसञ्चार मात्र गराएको छैन, नयाँ जिम्मेवारी र उचाइका साथ अभियानलाई निरन्तरता दिनुपर्ने चुनौती पनि बढदै गइरहेको छ। यस्तो परिस्थितिमा आयोजना गरिएको साधारण सभा तथा अधिवेशनले ज्ञान केन्द्रलाई वैचारिक एवं कार्यक्रमिक दृष्टिले दिशानिर्देश गर्न, समस्या र चुनौतीहरूको पहिचानसहित विचार र आचारमा रुपान्तरणसहित सक्रिय तुल्याउन, सांगठानिक काम र कार्यक्रमहरू व्यवस्थित गर्न एवं वस्तुसङ्गत कार्ययोजना निर्माणमा महत्वपूर्ण योगदान पुग्नेछ।
१. ऐतिहासिक सिंहावलोकन
देश कोभिड महामारीको सन्त्रासमा थियो। मानिसहरू कफ्र्युसहितको बन्दाबन्दीले बन्दी जीवनको महशुस गरिरहेका थिए। कोभिडबारे पर्याप्त जनचेतना, सुरक्षा सतर्कता र संयमता थिएन। निम्न वर्गलाई जीवन धान्ने चुनौतीले पिरोलिरहेको थियो, मध्यमवर्गको दैनिक जीवन अस्तव्यस्त थियो। मिनेट–मिनेटमा मानिस मरेका समाचार पढ्नु र त्यसबाट चिन्तित हुन आम मानिसको दैनिकी थियो।
त्यस्तो चुनौतीपूर्ण परिस्थितिमा हामी केही युवा साथीहरूले नयाँ सोच र सङ्कल्प अगाडि सार्यौँ। बन्दाबन्दीको समयलाई व्यवस्थित गर्ने, कोभिडबारे मानिसमा विद्यमान भयलाई आशामा बदल्ने, अध्ययन संस्कृतिलाई सवल तुल्याउने, अध्ययन सामग्रीको व्यवस्थापन गर्ने लगायतका कामलाई केन्द्रमा राखेर अनौपचारिक रुपमा मार्क्सवादको अध्ययन अध्यापनको थालनी गरियो। चुनौतीलाई अवसरमा बदल्ने यस प्रयासले युवा पुस्तालाई आकर्षण मात्र गरेन, अपितु नवीन उर्जासमेत प्रदान गर्यो।
करिब १ वर्ष अनौपचारिक अभियान सञ्चालनपश्चात् औपचारिक अभियानको थालनी गरियो। २०७७ फागुन १९ गते संस्थालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरी अध्ययन, अध्यापनको काम अगाडि बढाइयो। यस अवधिमा विभिन्न चरणका कक्षाहरू, डिस्कोर्स कार्यक्रमहरू, प्रशिक्षक प्रशिक्षण कार्यक्रम, प्रकाशन लगायतका कामहरू व्यवस्थित रूपमा अघि बढे। विभिन्न कम्युनिस्ट घटकका शीर्ष नेता र पार्टी स्कुलमा सक्रिय नेताहरूले कक्षा र डिस्कोर्समा सहजीकरण र सम्बोधन गर्नुभयो। यसले संस्थालाई स्थापित गर्न, जनाधार बिस्तार गर्न र संस्थागत प्रणालीको विकासमा व्यवस्थित योगदान तुल्यायो।
२०७४ सालमा वाम एकता र २०७५ सालमा पार्टी एकता गरेका एमाले–माओवादी २०७७ सालमा पार्टी एकता भङ्ग भई पुरानै अवस्थामा फर्किए। यसले देशको कम्युनिस्ट आन्दोलनमा निरासा, एक–अर्काप्रति आरोप–प्रत्यारोपको स्थिति देखापर्यो। ज्ञान केन्द्रले सबै धारका कम्युनिस्ट नेता–कार्यकर्तासँग समदूरीको सम्बन्ध कायम गर्दै अगाडि बढ्न कोशिस गरिरह्यो। तर, नेकपाका अध्यक्ष एवं देशको प्रधानमन्त्रीले नै २/२ पटक संसद विघटन गरेपश्चात् देश राजनीतिक द्वन्द्वमा प्रवेश गर्यो, पार्टी र नेताहरू संसद विघटनको पक्ष र विपक्षमा उभिए। त्यसको प्रत्यक्ष असर हाम्रो अभियानमा पर्यो।
जतिसुकै चुनौतीपूर्ण परिस्थिति देखा परे पनि चुनौतीलाई अवसरमा रुपान्तरण गर्न केन्द्रमा आवद्ध साथीहरूले निरन्तर पहल गरिरहनुभयो। यस अवधिमा विभिन्न चरणका कक्षाहरू, पुस्तक परिचर्चा, डिस्कोर्स, पुस्तक लेखन, सम्पादन र प्रकाशन, प्रशिक्षक उत्पादन, विनियम, कार्यविधि, आचारसंहिता र पाठ्यक्रम निर्माण, प्रदेश र विभागीय समितिहरूको गठन, विभिन्न जिल्लामा भौतिक उपस्थितिमा कक्षा सञ्चालन, हाजिरीजवाफ लगायतका रचनात्मक कार्यक्रमहरू जारी रहे। यसरी कहिले उत्साहपूर्ण त कहिले सङ्घर्षपूर्ण परिस्थितिको सामना गर्दै ज्ञान केन्द्र चौंथो साधारणसभासम्म आइपुगेको छ।
२. विश्व राजनीति र समाजवादको भविष्य
हरेक देशको कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको अभिन्न अङ्ग हो। तसर्थ, कुनै पनि देशको कम्युनिस्ट पार्टी, कम्युनिस्ट कार्यकर्ता र शुभेच्छुकका लागि समकालीन विश्व परिवेश र त्यसले आफनो देशको कम्युनिस्ट आन्दोलन एवं मार्क्सवादको विकासमा पार्ने प्रभावबारे आधारभूत जानकारी राख्नैपर्दछ। अझ विश्वव्यापीकरणको आजको युगमा विश्व व्यवस्था र त्यसका बहुआयमिक प्रभावहरूको ज्ञान र विश्लेषणबिना कम्युनिस्ट आन्दोलनको रक्षा र विकास असम्भवप्रायः हुन्छ। तसर्थ, प्रारम्भमा यहाँ विश्व व्यवस्था र त्यसले समाजवादी क्रान्तिको वर्तमान र भविष्यमाथि पार्नसक्ने प्रभावबारे संक्षेपमा चर्चा गरिन्छ।
अठारौँ शताब्दीसम्म शक्ति र स्रोतको केन्द्र एसिया रहेता पनि पहिलो औद्योगिक क्रान्तिपछि उक्त केन्द्र युरोपमा स्थानान्तरित ग-यो। पहिलो विश्वयुद्धले युरोपका शक्तिहरूको जग कमजोर बनाउँदै दोस्रो विश्वयुद्धपछि शक्तिकेन्द्रमा अमेरिकाको उदय भएपछि विश्व शीतयुद्धको सङ्कटबाट गुज्रियो। सन् १९९१ मा सोभियत सङ्घको विघटनसँगै समाजवादी ध्रुव ढलेको र पुँजीवादी ध्रुव अजेय एवं निर्बिकल्प रहेको घोषणा मात्र गरिएन, समाजवादी सिद्धान्तको अन्त्य भएको प्रचार गरियो।
तर, आजको विश्व बहुध्रुवीय छ। सोभियत सङ्घको विघटनपछि उठेको क्रान्तिकारी आन्दोलन बैकल्पिक विश्वको नेतृत्व गर्ने ठाउँमा नरहे पनि पुँजीवादी विश्वलाई चुनौती दियो। दक्षिण अमेरिका, एसिया र अफ्रिकन मुलुकहरूमा वामपन्थी शक्तिहरूप्रतिको आकर्षण बढ्दो छ। त्यस्तो आकर्षण संवैधानिक सङ्घर्ष र जनमतमार्फत् अभिव्यक्त हुँदैछ। रुस, चीन, पाकिस्तान, इराक, इरान लगायतका देशहरूको बढ्दो सहकार्यले एकातर्फ अमेरिकी प्रभुत्वमाथि गम्भीर चुनौती खडा भएको छ, अर्कोतर्फ भारत–रुस सम्बन्ध, चीन–रुस सहकार्यले शक्तिको केन्द्र एसियातर्फ सर्दैछ।
एसिया भूगोल र जनसङ्ख्या दुवैले महाशक्ति हो। रुस–चीन सहकार्य र अमेरिका–रुस सङ्घर्षमा भारतको मध्यमार्गी भूमिकाले पश्चिमा शक्तिहरूका निम्ति ठूलो चुनौती खडा गरिदिएको छ। चीनको अग्रसरतामा स्थापित सांघाई कोओपरेशन अर्गनाइजेशन (एससीओ) ले विश्व मञ्चमा अमेरिकी आधिपात्यको विरोधमा आफूलाई उभ्याउँदै आएको छ, जहाँ चीन, रुस, मध्य एसियाली पूर्वी सोभियत राज्यहरू, इरान, बेलारूस लगायत छन्।
सन् २००८ को विश्व आर्थिक मन्दीपछि नयाँ बिकल्पसहित सन २०१३ मा अगाडि सारिएको “वान बेल्ट वान रोड” सन २०१७ सम्म आउँदा बेल्ट एण्ड रोड इनिसियटिभका रुपमा विश्वमञ्चमा स्थापित भइसकेको छ। यसले विशाल एकीकृत बजार निर्माण र त्यस्ता स्वदेशी तथा विदेशी बजारको भरपुर उपयोग, सांस्कृतिक विनिमय र सङ्घुलन, सदस्य राष्ट्रबीच विश्वास र समझदारीलाई बढावा, पुँजीको अन्तरप्रवाह तथा प्रतिभाहरूको जमघटका साथै प्रविधि भण्डारका माध्यमबाट नवीन पहलको लक्ष्यसहित हालसम्म १५२ देश र अन्तर्राष्ट्रिय सङ्गठनलाई गोलबन्द गरेको छ।
पूर्वाधार विकास र लगानीका लागि अघि सारिएको चीन सरकारको यस पहलमा एसिया, युरोप, अफ्रिका, मध्यपूर्व र अमेरिका क्षेत्रका गरी विश्वका १५२ देश र अन्तर्राष्ट्रिय सङ्गठन आबद्ध भएको बिआरआईलाई प्राचीन तथा मध्ययुगीन व्यापारिक मार्गहरूको सञ्जाल रेशम मार्गको आधुनिक संस्करणका रूपमा लिने गरिन्छ। यसले एसियाली पूर्वाधार लगानी बैंकबाट सहुलियतपूर्ण कर्जा लिएर पूर्वाधारमा लगानी गर्दै आएको छ। भारत बिआरआईमा आवद्ध छैन, तर एसियाली पूर्वाधार बैंकबाट सबैभन्दा बढी कर्जा लिनेमा भारत देखिन्छ, जसबाट भारतको बिआरआईसँग परोक्ष सदभाव रहेको विश्लेषण हुँदैछ।
सन् २०१५ मा स्थापित नयाँ विकास (ब्रिक्स) बैंकले विश्व मञ्चमा अमेरिकी प्रभुत्वमाथि बिकल्पको लक्ष्य राख्दछ। ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका, बंगलादेश, युएई, उरुग्वे, इजिप्ट जस्ता मुलुकहरू सम्मिलित ब्रिक्सले यातायात, खानेपानी तथा सरसफाइ, स्वच्छ उर्जा, डिजिटल पूर्वाधार, सामाजिक पूर्वाधार र शहरी विकास जस्ता क्षेत्रमा लगानी गर्दै आएको छ।
रूस–युक्रेन युद्ध, अमेरिकी धुरीले रुसमाथि प्रतिबन्ध र पश्चिमा मुलुकहरूले रुस भ्रमणमा रोक लगाइरहेको बेला २०२४ जुलाई ९ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुस भ्रमण गरे। उक्त भ्रमणले सिंगो विश्व नै तरङ्गित हुनु स्वाभाविक थियो, किनकि यो भ्रमण पश्चिमाहरूका निम्ति ठूलो चुनौती थियो। समाजवादी मुलुकका नेताहरूसमेत रुस भ्रमणका निम्ति हच्केका बखत मोदीको भ्रमण भएको थियो।
इजरायल र इरानबीच देखिएको द्वन्द्व उत्कर्षमा पुग्दैछ। इजरायलले लेबनानमाथि गरेको हमलापछि मध्यपूर्वमा राजनीतिक तनाव देखिएको छ। शितयुद्धताका वैचारिक ध्रुवीकरणलाई मुख्य द्वन्द्व बनाएका शक्तिराष्ट्रहरू यतिबेला आफ्नो राष्ट्रिय स्वार्थमा केन्द्रित छन्। कुन राष्ट्र कतिबेला कतातर्फ उभिन्छ भन्ने कुराको निर्धारण वैचारिक मतान्तरले होइन, राष्ट्रिय स्वार्थ र आर्थिक लाभले निर्धारण गर्ने गरेको छ। यसले विश्वको बहुआयमिक द्वन्द्वलाई सङ्केत गर्दछ।
शीतयुद्धदेखि नै रुस–भारतबीचको सम्बन्ध सौहाद्र्ध थियो। तर, मोदीले यस्तो परिस्थितिमा रुसको भ्रमण गरे, जसको पूर्वसन्ध्यामा नाटो गठबन्धनको सम्मेलन थियो, जहाँ रुसका विरुद्ध र युक्रेनको प्रतिरक्षामा निर्णय लिइँदै थियो। मोदीको भ्रमणलाई अमेरिकी सञ्चारमाध्यमले भने– “भारतले मस्कोसँग न्यानो सम्बन्ध कायम गरेको छ। यो शीतयुद्धका दिनहरूदेखि नै कायम छ।”
भ्रमणबारे चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले “रुसलाई रोक्ने र एक्लो पार्ने निरन्तरको अमेरिकी प्रयास असफल भएको र भ्रमणले विश्वव्यापी रणनीतिक सन्तुलनमा योगदान गर्ने” विश्लेषण गर्यो। मोदीको भ्रमणलाई सिङ्गो विश्वले “पश्चिमा देश र तिनीहरूको प्रभुत्वका विरुद्ध ग्लोबल साउथ नेताका रुपमा स्थापित हुने प्रयास”का रुपमा चित्रित गरेको देखिन्छ।
५ नोभेम्बर २०२४ मा हुने ६० औं अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिकबाट कमला ह्यारिस् र रिपब्लिकनबाट डोनाल्ड ट्रम्प मैदानमा उत्रिएका छन्। प्रारम्भिक सर्भेहरूमा ट्रम्प बलियो भनिएको छ, यद्यपि निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिन्छ।
ट्रम्प विजयी भएमा अमेरिकाको नीतिमा गुणात्मक परिवर्तन नभए पनि आंशिक परिवर्तन आउने देखिन्छ, जस्तैः अमेरिकाले युक्रेनलाई दिँदै आएको शैन्य सहायता रोक्का गर्ने, नेटो गठबन्धनप्रति अमेरिकाको अनुदार नीति तथा नेटोलाई कमजोर पार्ने जस्ता विषयहरू छन्। किनकि, ट्रम्पको रुसी राष्ट्रपति भ्यादिमिर पुटिनसँगको मित्रताले अमेरिकाको विदेश नीतिमा परिवर्तन आउने धेरैको आंकलन छ, जुन कुरा ट्रम्पले चुनावी दौरानमा सङ्केत गर्दै आएका छन्।
ट्रम्पले अभिलेखीकरण नभएका आप्रवासीका सन्तानलाई जन्मसिद्ध नागरिकता दिने व्यवस्था अन्त्य गर्ने र मेक्सिकोका लागूऔषध तस्करी गर्ने गिरोहविरुद्ध युद्ध सुरु गर्ने बताउँदै एक दिन आफूले “अमेरिकी इतिहासकै सबैभन्दा ठूलो देशनिकाला सुरु गर्ने” बताएका छन्। यसले अमेरिकामा रहेका आप्रवासीहरूका निम्ति चुनौती थपिदिनेछ। ट्रम्प इजरायलको पक्षमा रहे पनि हमासविरुद्ध गरिएको आक्रमण अन्त्य गर्नुपर्ने मत राख्छन्, जसले इजरायल–हमास युद्धमा अमेरिकी सहयोग नरहन सक्छ। आफू पुनःनिर्वाचित भए चीनमाथि ६० प्रतिशतभन्दा बढी महसुल लगाउने उनले सङ्केत गरेका छन्, यसले अमेरिका–चीन व्यापार द्वन्द्व बढनसक्ने देखिएको छ। यस्ता परिदृश्यहरूले विश्व राजनीतिमा महत्वपूर्ण प्रभाव राख्नेछन्, यद्यपि रुस लगायतका शक्तिहरू समाजवादी ध्रुव निर्माणका निम्ति होइन, अमेरिकी प्रभुत्व भत्काएर शक्तिको केन्द्र आफूतर्फ हत्याउन चाहन्छन्।
पछिल्लोसमय दक्षिण अमेरिकी मुलुकहरूमा वामपन्थी शक्तिप्रतिको लोकप्रियता बढदै गएको छ। कोभिड–१९ को महामारीपछि देखिएको यो आकर्षण “गुलाबी ज्वार”का रुपमा परिचित छ। जसभित्र वामपन्थी सरकारको सङ्ख्या अभूतपूर्व छ। २०२१ मा इक्वेडर, पेरु, निकारागुआ, होन्डुरस र चिलीमा राष्ट्रपति चुनावहरू सम्पन्न भएका थिए, जसमा इक्वेडरबाहेक सबै वामपन्थीहरूले जितेका थिए। नयाँ ‘गुलाबी ज्वार’ले ल्याटिन अमेरिकाको राजनीतिक एजेन्डामा प्राथमिक मुद्दा सामाजिक कल्याणलाई लिन्छ। क्युवा, भेनेजुएला, निकारागुआ, चिली, अर्जेन्टिनामा वामपन्थी सरकार छ। मेक्सिको, कोलम्बिया, पेरू, बोलिभिया र होन्डुरसमा लोकप्रिय वामपन्थी जनमत छ। दक्षिण अमेरिकामा वामपन्थी शक्तिहरूको निरन्तर विजयले साम्राज्यवादीहरू त्रसित देखिन्छन्।
सोभियत सङ्घको विघटनपछि रक्षात्मक बनेको विश्व कम्युनिस्ट आन्दोलन २१ औं शताब्दीको तेस्रो दशकसम्म आइपुग्दा क्रमशः विकासको दिशामा अग्रसर छ। चीन, क्युवा, भियतनाम, उत्तरकोरिया, लाओस् लगायतका देशहरूले आफ्नै मौलिकताको समाजवादको अभ्यास गरिरहेका छन्। मध्यपूर्वका देशहरूमा समेत कम्युनिस्ट एवं वामपन्थी पार्टीहरू क्रमशः क्रियाशील हुन थालेका छन्। अफ्रिका, युरोप लगायत विश्वका महादीपहरूमा कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूबीच विचारको आदानप्रदानमा सुधार आएको छ।
दक्षिण एसियामा कम्युनिस्ट आन्दोलन उतारचढावका साथ अगाडि बढिरहेको छ। भारतको पछिल्लो निर्वाचनमा वामपन्थी शक्तिहरूको मतमा आंशिक सुधार देखिएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिरहेको नेपालले समाजवाद निर्माणको सङ्कल्प गरेको छ। देशका प्रायः कम्युनिस्ट घटकहरू समाजवाद निर्माणको कार्यदिशामा छन्। यद्यपि, कम्युनिस्ट आन्दोलन र घटकहरूप्रति जनताको भरोसा सन्तोषजनक देखिँदैन।
दक्षिण एसियामा समेत नयाँ राजनीतिक परिदृश्य देखिएका छन्। ४ जुन २०२४ मा घोषणा गरिएको भारतको लोकसभामा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको नेसनल डेमोक्रयाटिक अलायन्स (एनडिए गठबन्धन) ले २९३ सिट जित्यो, कंग्रेस आई नेतृत्वको प्रतिपक्षी इन्डिया गठबन्धनले २३१ सिट जित्यो। अघिल्लो निर्वाचनको तुलनामा यसपटक भाजपाले ६३ सिट गुमाउँदै २४० सिट मात्रै प्राप्त गरेको छ, जुन बहुमतको सरकार सञ्चालनका निम्ति पर्याप्त छैन। राजनीतिक स्थीरताको लाभ उठाउँदै छिमेकीमाथि हस्तक्षेप गर्दै आएको मोदी सरकार आफनो आन्तरिक राजनीतिक सन्तुलनमा अल्मलिनुपर्नेछ।
बंगलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरु गरेको आन्दोलनले अन्ततः ५ अगस्ट २०२४ मा सत्ता परिवर्तन गरिदिएको छ। प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छन्। यो परिघटनालाई हसिनाको अधिनायकवादी चरित्र र बङ्गलादेशको भारतसँग निर्भरता एवं अमेरिकी असन्तुष्टि र हस्तक्षेपको परिणामका रुपमा विश्लेषण गरिएको छ।
आर्थिक सङ्कटका कारण उकुसमुकुस जनमत राष्ट्रपति गोटाबाया राजापाक्षेविरुद्ध केन्द्रित हुँदा सन् २०२२ बाट सुरु भएको आन्दोलनले श्रीलङ्काको राजनीतिमा उथलपुथल ल्याइदिएको छ। सो क्रममा आन्दोलनकारीले राष्ट्रपतिको गेट र राष्ट्रपति सचिवालय कब्जा गरेका थिए। आन्दोलनपछि राजापाक्षे देश छोडन बाध्य भए।
२०७९ मंसीरमा सम्पन्न निर्वाचनमा नेपालका पूराना दलहरूको सिट सङ्ख्या बढी भए पनि २०८० वैशाखमा सम्पन्न उपनिर्वाचनसम्म आउँदा ठूला दलहरूको भविष्यमा गम्भीर प्रश्न खडा भएको छ। उपनिर्वाचनमा व्यक्त जनमत २०८४ को निर्वाचनमा फरक कोणबाट व्यक्त भएमा त्यसले नेपालको “पोलिटिकल कोर्स” नै परिवर्तन गर्नसक्ने विश्लेषण गरिँदैछ। स्थानीय तह, प्रदेश र सङ्घमा उदाएका नयाँ दल र अनुहार हेर्दा ठूला दलप्रति जनताको वितृष्णा भविष्यमा फरक पात्र र प्रवृत्तिका रूपमा बढेर जानेछ, जसमा नेपालका कम्युनिस्ट घटकहरूसमेत पर्नेछन्। यसरी दक्षिण एसियाली राजनीतिले यथास्थितिको बिकल्प खोज्दैछ।
उल्लेखित तथ्यबाट प्रष्ट हुन्छ– आजको विश्वमा कम्युनिस्ट आन्दोलन आक्रामक स्थानमा छैन, न बैकल्पिक शक्तिका रूपमा नै स्थापित हुन सकेको छ। तर, एकातर्फ कम्युनिस्ट आन्दोलनमा देखिएको क्रमिक आकर्षण र सुधार तथा अर्कोतर्फ अन्तरसाम्राज्यवादी अन्तरविरोधका कारण विश्व बहुध्रुवको बाटोमा अगाडि बढिरहेको छ। साम्राज्यवादी शक्तिबीच देखिएको बढ्दो अन्तरविरोधले निकट भविष्यमै विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने र त्यसबाट कम्युनिस्ट, वामपन्थी एवं लोकतान्त्रिक शक्तिहरूले लाभ उठाउन सक्ने सम्भावना बलियो बन्दै गएको छ।
यी विषयहरूसमेत हाम्रो अध्ययन र बहसको विषय बन्नैपर्दछ, जसले हाम्रो दृष्टिकोण फराकिलो पार्न एवं सही र वस्तुनिष्ठ विश्लेषणका निम्ति मद्दत पुग्नेछ।
३. राष्ट्रिय राजनीति र हाम्रो अभियान
नेपाली कम्युनिस्ट आन्दोलनले राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणको नेतृत्व गर्दै हिरक जयन्ती पार गरिसकेको छ। ७५ वर्षको अवधिमा कम्युनिस्ट आन्दोलनले एकता, विभाजन, पुनः एकताका अनेकौँ श्रृङ्खलाहरूसहित देशको नेतृत्व गरिरहेको छ। २०७४ सालमा नेपालका ठूला कम्युनिस्ट घटकहरू एमाले र माओवादी केन्द्र एकतावद्ध हुँदा राष्ट्रिय उत्साह सिर्जना भयो। तर, २०७७ मा भएको विभाजनपश्चात् वामपन्थी जनमतमा निरासा छ।
२०७९ मा सम्पन्न सङ्घीय र प्रादेशिक निर्वाचनमा वामपन्थी शक्तिहरू एक हुन सकेनन्, त्यसको प्रत्यक्ष लाभ दर्शन, सिद्धान्त, विचार, संगठन, योगदान, कार्यक्रम, कार्ययोजना र राजनीतिक चरित्रसमेत नभएका व्यक्ति र समूहहरूले लिए। यसका पछिल्तिर ठूला दलहरूप्रति जनताको अविश्वास र अस्थीर राजनीतिको चाहना राख्ने शक्तिहरूको योजना देखिन्छ। आज समाजको सबैभन्दा गतिशील, रचनात्मक र बौद्धिक युवा पुस्तामा राजनीतिप्रति वितृष्णा मात्र जागेको छैन, देशभित्र भविष्य नदेख्ने परिस्थितिसमेत सिर्जना हुँदैछ।
राजनीतिक दल र नेतृत्वप्रति आम नागरिकमा विकर्षण देखिनुका मूल कारणहरूको खोज, अनुसन्धान गरी त्यसका आधारमा समस्याको सम्बोधन गर्नु आजको प्रमुख कार्यभार हो। राजनीतिप्रति बढ्दो निरासाका मूल कारण निम्न मान्न सकिन्छ :
पहिलोः जनयुद्ध र २०६२/०६३ को जनआन्दोलनले आम जनतामा आशाको रक्तसञ्चार गरिदियो। सदियौँदेखि उत्पीडन र पछौटेपनको अनुभूति गरिरहेका जनतामा राजनीतिक दलहरूप्रति विश्वास मात्रै जागृत भएन, राजनीतिक परिवर्तन र आर्थिक समृद्धिको महत्वाकाङ्क्षा ह्वात्तै बढाइदियो। तर, सम्झौताको राजनीति, राजनीतिक शक्ति सन्तुलन, भूराजनीति, राजनीतिक निष्ठा र अनुभवको कमी, प्रशासन संयन्त्रजस्ता सीमाहरूबाट क्रान्तिकारी सुधार सम्भव थिएन र भएन। त्यसले आशा क्रमशः निरासामा बदलियो।
दोस्रोः गणतन्त्रको स्थापनादेखि वर्तमानसम्म नेपालले हासिल गरेका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तन र उपलब्धीहरूको जनतामा सही ढङ्गले सम्प्रेषण भएन। ती उपलब्धीहरूलाई शैक्षिक संस्थाहरूको औपचारिक पाठ्यक्रममा व्यवस्थित रूपले समाविष्ट गरिएन। त्यसको परिणाम नयाँ पुस्ताले मल्लकाल र शाहवंशबारे ज्ञान राख्ने तर गणतन्त्रका निम्ति गरिएको सङ्घर्ष र प्राप्त उपलब्धीबारे बेखबर जस्तै बन्न पुग्यो। ‘देशमा केही भएन, केही हुँदैन’ भन्ने भाष्य निर्माणका पछाडि यो तथ्यसमेत जिम्मेवार छ।
तेस्रोः राजनीतिक पार्टीहरू आधार निर्माणको प्रश्नलाई उपेक्षा गर्दै उपरिसंरचनाको बहस र गोलचक्करमा रुमलिए। जनताको दैनिक जीवनसँग सम्बन्धित जनजीविकाका प्रश्नहरूमा छलफल नहुने तर सत्ता राजनीतिका जोडघटाउमा व्यस्त हुने परिस्थितिले व्यवस्था र राजनीतिक दलप्रति जनताको अपनत्व कमजोर हुँदै गयो।
चौंथोः गणतन्त्रपछि पनि राजनीतिक स्थायित्व कायम हुन सकेन। सरकार अस्थीर हुँदा आर्थिक समृद्धि र ‘सर्भिस् डेलिभरि’मा गम्भीर प्रकारका समस्याहरू देखा परे। व्यापार घाटा न्यूनिकरणका अनेकौँ प्रयासहरूले सार्थकता प्राप्त गर्न सकेनन्। भ्रष्टाचार निवारण र सुशासनको प्रत्याभूतिमा अपेक्षित परिणाम हासिल हुन सकेन। रोजगारी सिर्जनामा राज्य उपर्युक्त वातावरणको निर्माण र व्यवस्थापन गर्ने कुरामा पटकपटक चुकिरह्यो।
पाँचौँः भूमण्डलीकरणको प्रत्यक्ष प्रभाव नेपालजस्ता तेस्रो विश्वमा पर्यो। जनता र मुख्यतः युवा पुस्ताले २०६३ अघि र पछिको नेपालको तुलना गरेन। बरु, नेपाललाई युरोप र अमेरिकासँग तुलना गरेर दृष्टिकोण निर्माण गर्यो। २०६३ अघि र पछिको नेपालबीच तुलना हुँदा देशमा आशाको रक्तसञ्चार पैदा हुन्थ्यो। तर, अति विकसित मुलुकहरूसँगको तुलनाले निरासा मात्र। ती मुलुकहरूले सयौँ वर्ष लगाएर वर्तमान सफलता हासिल गरेका थिए भन्ने धैर्यतापूर्ण विश्लेषणको जग बस्न सकेन।
छैटौँः गणतन्त्रपछि राजनीतिक स्थीरता र कम्युनिस्ट आन्दोलनको विकासका निम्ति अनेकौँ अभ्यासहरू भए। कम्युनिस्ट घटकहरूबीच गठबन्धन र एकता, कम्युनिस्ट–गैरकम्युनिस्ट गठबन्धन, पहिलो र दोस्रो दलबीच गठबन्धन, नयाँ–नयाँ दलहरूबीच सहकार्य, नयाँ–पुराना दलहरूप्रति सहकार्यजस्ता सम्भव सबै प्रयोगहरू गरिए। तर, ती कुनै पनि प्रयोग र प्रयासले अपेक्षित नजिता दिन नसक्दा युवा पुस्तामा ‘देश छोड्नु नै बिकल्प हो’ भन्ने भाष्य निर्माण हुन पुग्यो।
सातौँः राजनीतिक दलहरूले सिद्धान्तअनुरुपको आचरण, वैचारिक र नैतिक आदर्श एवं त्यागको संस्कृति निर्माण गर्न सकेनन्। राजनीति सबैभन्दा ठूलो र लाभदायी व्यापार भएको सामाजिक मनोविज्ञान बन्दै जाँदा राजकीय पुँजीवाद बलियो बन्दै गयो। पद र जिम्मेवारी देश र जनताको परिवर्तन र रूपान्तरणका निम्ति होइन, आफ्नो व्यक्तिगत प्रतिष्ठा, सुखसयल र बिलासिताका निम्ति प्रयोग हुँदै जाँदा सक्नेहरू नाजायज कर्म र नसक्नेहरू पलायनको बाटो रोज्ने परिस्थिति बन्यो।
आठौँः गणतन्त्रपछि पनि भूराजनीतिक दवाव र हस्तक्षेप कमजोर हुन सकेन। बरु, नयाँ सत्ता राजनीतिका निम्ति विदेशी दवाव स्वीकार्ने र कतिपय अवस्थामा हस्तक्षेप आमन्त्रण गर्नेसम्मको स्थिति देखा पर्यो।
नवौँः राष्ट्रिय चिन्तन, राष्ट्रिय संस्कृतिको संरक्षण र प्रवर्धनमा राजनीतिक दलहरूको पर्याप्त ध्यान पुग्न सकेन। नयाँ पुस्तालाई राष्ट्रियता कोरा नारामात्रै नभएर जीवनपद्धति हो भन्ने यथार्थको आत्मसात गराउन राज्यले ठोस भूमिका निर्वाह गर्न सकेन। तसर्थ, यी विषयहरूमाथि बिहंगम अध्ययन, अनुसन्धान र संश्लेषण जरुरी छ।
२०७९ सालमा निर्मित वामपन्थी सरकारले सुशासन र अर्थतन्त्र क्षेत्रमा महत्वपूर्ण पहल लिएकाले राजनीतिक दुर्घटना हुने परिस्थिति त रोकियो। तर, देशव्यापी उत्साह कायम भएन। वामपन्थी शक्तिहरूलाई एकतावद्ध गर्ने पछिल्लो प्रयासलाई पश्चिमा शक्तिले कमजोर तुल्याएका छन्। सुशासनको भय र पश्चिमा दवावका कारण एमाले–माओवादी–समाजवादीबीच सहकार्य सार्थक हुन सकेन। अहिले देशमा दक्षिणपन्थी शक्तिहरूको नेतृत्व छ, जो कम्युनिस्ट आन्दोलन र समाजवादको भविष्य होइन, आफनो व्यक्तिगत र समूह स्वार्थमा केन्द्रित छन्।
नेपालका अधिकांश कम्युनिस्ट घटकहरू समाजवादी कार्यदिशाप्रति सैद्धान्तिक दृष्टिले सहमत छन्, तर व्यवहारतः कम्युनिस्ट आन्दोलनका महान् गुरूहरूका दृष्टान्त र विश्लेषण सापटी लिएर कम्युनिस्ट आन्दोलनको सङ्कट टार्ने प्रयास गरिँदैछ, जुन अवैज्ञानिक र असम्भव दुबै छ। तसर्थ, चौंथो औद्योगिक क्रान्तिले उपलब्ध गराएका अवसर र चुनौतीहरूको वैज्ञानिक विश्लेषणसहित समाजवादी क्रान्तिको ठोस र मूर्त कार्यदिशामा राष्ट्रिय बहस आवश्यक छ।
हामीकहाँ मार्क्सवादको औचित्यमाथि नै प्रश्न उठाउने, सिद्धान्तको महत्वलाई अवमूल्यन गर्ने, सिद्धान्त र व्यवहारको विरोधाभाष देखाएर अध्ययन संस्कृतिका विरुद्ध जनमत तयार पार्ने प्रवृत्तिहरू छन्। यसतर्फ सर्तक रहँदै अध्ययन संस्कृतिलाई जीवन्त तुल्याउनु संस्थाको मुख्य जिम्मेवारी हो।
४. प्रमुख उपलब्धीहरू
पाँच वर्षको अवधिमा केन्द्रले आफूलाई देशको एक स्थापित संस्थाका रूपमा विकास गरेको छ। संस्थाका प्रमुख उपलब्धीलाई यसरी उल्लेख गर्न सकिन्छ :
मार्क्सवादी ज्ञान केन्द्रले आफूलाई देशको अग्रणी वैचारिक संस्थाको रुपमा विकास गर्दै पठन संस्कृतिको विकासमा नेतृत्वदायी भूमिका खेलिरहेको छ।
समाज रुपान्तरणको पाठशालाका रूपमा व्यवस्थित विधान, विनियम, कार्यविधि, आचारसंहिता, अक्षयकोष निर्माण गरी स्थापित शैक्षिक संस्था एवं अविछिन्न वैचारिक संगठनका रूपमा विकास गरेको छ।
ज्ञान केन्द्रद्वारा प्रकाशित पुस्तक र अन्य प्रकाशनहरूले वामपन्थी जनमत निर्माण र नेतृत्व विकासका निम्ति बौद्धिक योगदान गरिरहेका छन्।
ज्ञान केन्द्रको नियमित अभियानले देशका प्रायः सबै कम्युनिस्ट घटकहरूलाई पार्टी स्कुल सञ्चालनका निम्ति सकारात्मक दवाव सिर्जना गरेको छ। ज्ञान केन्द्रका सामग्रीहरू ती कम्युनिस्ट घटकहरूका स्कुलिङमा सन्दर्भसामग्री हुने गरेका छन्।
सात वटै प्रदेश, जिल्ला र स्थानीय तहमा समेत संगठनको संरचना, विकास, बिस्तार र सुदृढीकरणको आधार तयार भएको छ। आगामी वर्ष देशका अधिकांश जिल्लामा शाखा बिस्तार गर्न सकिने सम्भावना बलियो हुँदै गएको छ।
संस्थाका आजीवन सदस्यहरूको वैचारिक स्तरमा प्रगति हुँदै गएको छ। केन्द्रमा आवद्ध साथीहरूले भविष्यमा विचार निर्माणको क्षेत्रमा राष्ट्रियस्तरमा योगदान गर्ने सम्भावना देखिएको छ।
समाजवादी कार्यदिशाको संश्लेषण, परिस्करण र विकासका निम्ति ज्ञान केन्द्रले सहजीकरण गर्न सम्भव देखिएको छ।
५. प्रमुख चुनौतीहरू
हाम्रा अगाडि केही गम्भीर चुनौतीहरू छन्। त्यसमध्ये प्रमुख चुनौती यस्ता छन् :
विचार निर्माण र अध्ययन संस्कृतिको मूल्यबोध गराउँदै मार्क्सवादको अध्ययनप्रति अभिरुचि जगाउनु आजको सबैभन्दा प्रमुख चुनौती हो। “पढेर के हुन्छ, पूरानो मार्क्सवाद पढेर के काम ?” जस्ता भाष्य चिर्न रचनात्मक र सिर्जनशील हुनुपर्ने चुनौती हामीसामु छ।
सिद्धान्तअनुरुपको व्यवहार एवं आचरणको चुनौती अर्को चुनौती हो। व्यवहार र प्रयोगमा सिद्ध भएको सिद्धान्तले मात्र समाज रूपान्तरणको नेतृत्व गर्न सक्छ। आम शुभेच्छुक र जनताले हाम्रो आचारलाई उत्तिकै गम्भीरताका साथ बोध गरेका हुन्छन भन्ने तथ्य आत्मसात गर्दै प्रगतिशील व्यवहार तथा आचारमा गम्भीर हुनैपर्दछ।
सैद्धान्तिक एवं दार्शनिक विषयका साथै समकालीन विश्वमा विकसित अन्वेषण र घटनाक्रमबारे जानकारी राख्ने, त्यसको विश्लेषण गर्ने र ऐतिहासिक भौतिकवादी निष्कर्ष निकाल्ने चुनौती हामीसँग छ। विगतबारे पर्याप्त जानकारी राख्ने र व्याख्या गर्ने तर वर्तमानप्रति बेखबर रहने चुनौतीलाई हामीले सम्बोधन गर्नैपर्छ।
अध्ययन र ज्ञानबिना नै कम्युनिस्ट पार्टीको उच्च नेतृत्वमा पुग्ने प्रवृत्तिले सिङ्गो कम्युनिस्ट आन्दोलनमा अध्ययन संस्कृतिको औचित्य कमजोर हुँदैछ। तसर्थ, वामपन्थी घटकहरूमा अध्ययन संस्कृतिलाई नेतृत्वको विकासमा अनिवार्य शर्तका रुपमा स्थापित गर्न प्रेरणादायी भूमिका खेल्नुपर्दछ।
सम्पूर्ण आजीवन सदस्यहरूको विश्वास आर्जन गर्दै संस्थासँग अविछिन्न सम्बन्धसहित सक्रिय तुल्याउने चुनौती हाम्रासामु छ। साथै दूरदराजसम्म अभियान सञ्चालन, हाम्रा गतिविधिहरूको गुण, मात्रा र सहभागिता अभिवृद्धि गर्ने चुनौती हामीसामु छ।
६. आगामी योजनाको दिशानिर्देश
अधिवेशनबाट निर्वाचित हुने कार्यसमितिले नै संस्थाको आगामी वर्षको कार्यक्रम तथा कार्ययोजना तय गर्नेछ। यहाँ आगामी योजनामा समावेश गर्नुपर्ने केही आधारभूत विषयहरू मात्रै बुँदागत रुपमा उल्लेख गरिएको छ।
अध्ययन अनुसन्धान समूहलाई ‘अध्ययन समूह’का रुपमा मात्रै परिभाषित गरी ती समूहले पुस्तक परिचर्चा, पुस्तक समीक्षा, अन्तरक्रिया जस्ता कामहरू गर्ने।
कलेज सञ्चालनको उद्देश्य राखेर स्थापना गरिएको ‘‘स्कुल अफ माक्र्सिष्ट इकोनोमी एण्ड थट” लाई पूर्ण स्वायत्ततासहित अनुसन्धान र परामर्शको काममा केन्द्रित गर्ने।
प्रकाशोन्मुख कृतिहरूः कम्युनिस्ट ज्ञानकोश, विश्वप्रसिद्ध पुस्तकहरूको सङ्गालो, कम्युनिस्ट स्कुल अंग्रेजी संस्करण र पुँजीको भूमण्डलीकरण क्रमशः प्रकाशन गर्दै जाने।
प्रदेश अध्यक्ष कार्यसमिति भित्र र बाहिरबाट छान्नसक्ने व्यवस्था गर्ने। कार्यसमिति भित्रबाट अध्यक्ष छान्दा कार्यसमितिबाट समन्वय गर्ने अर्को व्यक्ति नतोक्ने। बाहिरबाट अध्यक्ष छान्दा कार्यसमितिबाट समन्वय गर्ने व्यक्त तोक्ने र प्रदेश अध्यक्षलाई कार्यसमिति बैठकमा आमन्त्रित गर्ने।
सक्रिय आजीवन सदस्यहरूको रोष्टर बनाई जिम्मेवारी प्रदान गर्ने।
आगामी वर्षको कार्यक्रम तर्जुमा गर्दा प्रदेशहरूको सामथ्र्य र केन्द्रको योजनाको समन्वयका आधारमा गर्ने।
शाखा बिस्तारको काम सबै प्रदेशहरूले व्यवस्थित गर्ने।
सल्लाहकार, प्रदेश अध्यक्ष र विभागका प्रमुख, उपप्रमुखको जिम्मेवारी अधिवेशनबाट नै निर्धारण गर्ने।
पुरानो कार्यसमितिमा रहेर संस्थाको निम्ति सहयोग गरेका साथीहरूलाई सम्मान गर्ने।
केन्द्र, प्रदेश र जिल्लास्तरमा विभिन्न वामपन्थी घटकका नेताहरूसँग अन्तरक्रिया, सम्बन्ध सुदृढीकरण र सहकार्यका निम्ति समन्वय संयन्त्र निर्माण गर्ने।
विचार, मुद्दा र कार्यक्रम मिल्ने संगठनसँग सहकार्य र आदानप्रदानको काम गर्ने। प्रवासमा रहेका नेपालीहरूलाई ज्ञान केन्द्रमा आवद्ध गर्न अलग्गै संयन्त्र निर्माण गर्ने।
आगामी वर्ष केन्द्रका कार्यक्रमहरूलाई घनिभूत, व्यवस्थित गर्ने। जिल्ला र प्रदेशका तर्फबाट आयोजना हुने कार्यक्रमको सहजीकरणमा केन्द्रले सक्रिय भूमिका खेल्ने।
कार्यालय व्यवस्थापन, प्रविधि व्यवस्थापनका क्षेत्रमा मितव्ययी र आत्मनिर्भरताका उपायहरूको खोजी गरी लागू गर्ने।
आर्थिक रूपमा सवल साथीहरूले कमजोर साथीहरूलाई सहयोग गर्ने समाजवादी संस्कृतिको प्रवर्धन र विकास गरी व्यवस्थापकीय सन्तुलन कायम गर्ने।
काठमाडौँ उपत्यका र देशका प्रमुख शहरका क्याम्पसहरूमा छोटा भौतिक कक्षा र विभिन्न रचनात्मक कार्यक्रमहरू आयोजना गरी युवा पुस्ता (विद्यार्थी) हरूलाई अभियानमा आवद्ध गर्ने।
अनुशासन तथा मूल्यांकन समितिलाई शक्तिशाली बनाउँदै केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरू, प्रदेश अध्यक्षहरू, विभागका प्रमुख र सचिवहरूको कार्यसम्पादन मूल्याङ्कन एवं सामाजिक परीक्षणको काम व्यवस्थित गर्ने।
महिला विभाग र अन्तर्राष्ट्रिय विभाग गठन गरी महिला सहभागितामा बढोत्तरी, नेतृत्व विकास, विदेशमा रहेका नेपालीहरूमा मार्क्सवादको अध्ययन, अध्यापन र भाइचारा संस्थाहरूबीचको सम्बन्ध सुदृढ तुल्याउने।
७. उपसंहार
विश्व राजनीति, विज्ञान र प्रविधिको विकास, राष्ट्रिय परिस्थिति, देशको कम्युनिस्ट आन्दोलन, सामाजिक मनोविज्ञान र युवा पुस्ताको अभिरुचिलाई ध्यानमा राखेर मात्र अबको परिस्थितिमा ज्ञान केन्द्रको नीति, संगठन र कार्यक्रम प्रभावकारी तुल्याउन सकिन्छ। तसर्थ, परिस्थितिको सही आंकलन र सामाजिक मनोविज्ञानका आधारमा आफूलाई रुपान्तरित र परिमार्जनका निम्ति हामी सबै तयार हुनुपर्दछ।
मार्क्सवादी ज्ञान केन्द्रमा हाम्रो आवद्धता र क्रियाशीलता स्वयंसेवी अभियान हो। यो सामाजिक रूपान्तरणको हाम्रो जिम्मेवारी पनि हो। तसर्थ, त्याग र समर्पणको भावनाद्वारा प्रेरित भएर मात्र यस्ता संस्था र अभियानहरूमा निरन्तर योगदान गर्न सकिन्छ। यस्तो सक्रियता र योगदानले हामी सबैको व्यक्तिगत एवं सामाजिक छवि र क्षमता अभिवृद्धि गर्नेछ। यही उचाइका साथ सबैले सोचौँ र क्रियाशील होऔँ। आगामी वर्ष हाम्रो प्रगतिको गुणात्मक वर्ष हुनेछ, धन्यवाद।
बधाइ छ दाइ
ReplyDelete