गोष्ठीमा वक्ताहरूको जोडः “गणतन्त्रसँग राजतन्त्रको तुलना हुनै सक्दैन”
वैशाख २०, काठमाडौं– पूर्वसभामुख एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्नेमा जोड दिनुभएको छ।
मार्क्सवादी ज्ञान केन्द्रले शनिबार आयोजना गरेको ‘गणतन्त्र अगाडि र पछाडिको नेपालः तुलनात्मक अध्ययन’ शोधग्रन्थमाथिको पृष्ठपोषण कार्यक्रममा उहाँले राष्ट्रिय दृष्टिकोण निर्माणमा दलहरूबीच बहस हुन नसक्नु दुःखद भएको बताउनुभयो।
पूर्वसभामुख सापकोटाले समाजवाद नै अहिलेको सर्वोत्कृष्ट राजनीतिक व्यवस्था भएकाले राष्ट्रिय पुँजीको विकास गरेर त्यसतर्फको यात्रा अघि बढाइनुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, ‘संविधानसभाबाट जारी संविधानमा समाजवादउन्मुख राज्य व्यवस्था हुने भनेर उल्लेख गरिएको छ, यो ठूलो उपलब्धि हो, अब संविधानमा टेकेर वैज्ञानिक समाजवादका लागि सङ्घर्ष गर्नुपर्छ।’
राजनीतिक परिवर्तन पछाडि जनअपेक्षाअनुसार आर्थिक सामाजिक रूपान्तरण नभएको स्वीकार्दै उहाँले गणतन्त्र र राजतन्त्रबीच कुनै हालतमा तुलना गर्न नमिल्ने बताउनुभयो।
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले राष्ट्रिय मुद्दामा पक्ष–विपक्ष नभई दलहरू एक ठाउँमा उभिनुपर्ने बताउनुभयो।
‘परराष्ट्र नीति, आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, रोजगारीका एजेण्डामा साझा सङ्कल्प गर्न सक्यौँ भने मात्र मुलुकको समृद्धि सम्भव छ’, उहाँले भन्नुभयो।
जनअपेक्षा पूरा गर्न सन्तुलित र समानुपातिक विकासको अवधारणा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उहाँले कांग्रेसले समाजमा देखिएको नैराश्यताको गम्भीर अध्ययन आवश्यक भएको बताउनुभयो।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सचिव सावित्राकुमारी भुसालले राजनीतिक परिवर्तन पछाडिको आर्थिक तथा सामाजिक अवस्था प्रगतिपथमा रहेको उल्लेख गर्दै बहुदलपछि नवउदारवादको नक्कल गरेर राष्ट्रिय उद्योगधन्दा निजीकरण गर्दा मुलुकले दुर्दशा भोगिरहेको बताउनुभयो।
बाग्मती प्रदेशसभा सदस्य इन्द्र गौतमले गणतन्त्रको स्थापनापछि मुलुकले फड्को मारेको जनाउँदै गणतन्त्र अघि र पछिको अवस्थाबारे तुलनात्मक अध्ययन गरेर शोधग्रन्थ प्रकाशन गर्दा राजनीतिक परिवर्तनपछिको उपलब्धिको दस्तावेजीकरण हुने बताउनुभयो।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. चन्द्रमणि अधिकारीले नागरिकको चेतना र खुलापनले अहिलेको आर्थिक र सामाजिक उपलब्धिलाई लिएर चित्त बुझाउने अवस्था नरहेको बताउनुभयो। ‘हिजोसँग तुलना गर्दा ‘छलाङ’ मारेका हौँ, तर यतिले मात्र पुगेको छैन भनेर स्वीकार गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘अब मुलुकको नेतृत्व गर्ने दायित्व नयाँ पुस्ताको हो भनेर सिकाउनुपर्छ।’
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक बालमुकुन्द रेग्मी र नेपाल खुला विश्वविद्यालयका उपप्राध्यापक रूमा मानन्धरले गणतन्त्रपछि मुलुकले धेरै क्षेत्रमा प्रगति हासिल गरिरहेको उल्लेख गर्दै अब समाजवादी विकासको मोडल अपनाउनुपर्नेमा जोड दिनुभयो।
केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाले गणतन्त्र अगाडि र पछाडिको नेपाल आर्थिक तथा सामाजिक विकासको अवस्थाबारे आमनागरिकलाई जानकारी दिन शोधग्रन्थ तयार गर्न लागिएको जानकारी दिनुभयो।
शोधग्रन्थ अनुसन्धान संयोजक डा. निमानन्द रिजालले गणतन्त्र घोषणापछि वैदेशिक ऋणको अनुपात घटेको, आन्तरिक तथा बाह्य लागनी, पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षालगायत आधारभूत सुविधाको पहुँच अभिवृद्धि भएको तथ्यांक प्रस्तुत गर्नुभएको थियो।
गोष्ठीमा विभिन्न विषयका विज्ञहरूको राजतन्त्रकाल र गणतन्त्रकालको तुलनात्मक अध्ययनसँग सम्बन्धित शोधग्रन्थमा आफ्ना महत्वपूर्ण सुझावहरू प्रस्तुत गर्नुभएको थियो।
Comments
Post a Comment