“गणतन्त्र अगाडि र पछाडिको नेपालः तुलनात्मक अध्ययन” कृति लोकार्पित

 


काठमाडौं, ७ साउन। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले गणतन्त्रप्रतिको सबैभन्दा गहिरो चिन्ता तथा सरोकार आफूहरूलाई नै रहेको स्पष्ट गर्नुभएको छ।

बुधबार मार्क्सवादी ज्ञान केन्द्रद्वारा काठमाडौँमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपालः तुलनात्मक अध्ययन’ नामक अनुसन्धानात्मक कृतिको लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त भएको गणतन्त्रमाथि हाल प्रश्न उठ्न थालेपछि त्यसको संरक्षण र सुदृढीकरणप्रति गम्भीर चासो व्यक्त गर्नुभएको हो।

उहाँले आन्दोलनको स्मरण गर्दै भन्नुभयो, “बच्चा जन्माउने आमालाई जति माया हुन्छ, त्यति अरूलाई हुँदैन। गणतन्त्रप्रति प्रश्न उठेपछि हामीले काठमाडौंमा विशाल प्रदर्शन त्यसैगरी मात्रै गरेका थिएनौं, त्यो हाम्रो संकल्प र सरोकारको अभिव्यक्ति थियो।”

अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनको योगदानबाट महिला, दलित, आदिवासी तथा जनजाति समुदायले पाएका अधिकारहरू आज संस्थागत भएको उल्लेख गर्दै ती अधिकारहरू अब उल्ट्याउन नसकिने विश्वास व्यक्त गर्नुभयो।

उहाँले पछिल्ला दिनमा गहिरो अध्ययन, चिन्तन, वैचारिक सिद्धान्त र त्यागमा आधारित आन्दोलन तथा नेताहरूलाई हल्का रूपमा व्याख्या गर्दै आलोचना गर्ने प्रवृत्ति बढिरहेकोप्रति दुःख प्रकट गर्नुभयो।

“आजभोलि सुसंस्कार, दर्शन र युगान्तकारी परिवर्तन ल्याउने नेताहरूलाई गाली गर्ने फेसन चलेको देखिन्छ,” उहाँले भन्नुभयो।

त्यस्तै, कुनै वैचारिक धरातल वा ऐतिहासिक योगदान नरहेका व्यक्तिहरूबाट जनतालाई भ्रममा पार्ने प्रयास भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले त्यसले मुलुकलाई गलत दिशातर्फ डोर्याउन सक्ने खतरा औंल्याउनुभयो।

उहाँले भन्नुभयो, “देशमा निराशावादको व्यापार, असन्तुष्टिको बजार र देश छोड्ने पलायन प्रवृत्तिहरू हावी हुँदै गइरहेका छन्। यस्ता प्रवृत्तिविरुद्ध प्रतिवाद गर्न तथा जनतालाई सही इतिहास बुझाउन पुस्तकहरू सशक्त माध्यम हुन सक्छन्।”

कार्यक्रमको समापनमा अध्यक्ष प्रचण्डले गहन र विश्लेषणात्मक कृतिहरूले मुलुकको राजनीतिक, सामाजिक र वैचारिक मार्गदर्शनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
 

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डले लोकार्पित कृतिले गणतन्त्रको रक्षा र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।
 

उहाँले भन्नुभयो, “यो पुस्तक गणतन्त्र अगाडि नेपालमा के थियो, अहिले के छ ? त्यसको तुलनात्मक अध्ययनमा आधारित छ। पुस्तक निकै गहन छ। कृतिले व्यवस्थामा आएको परिवर्तनका सकारात्मक र नकारात्मक पक्षहरूको समेत राम्रो अध्ययन गरेको छ।”
 

पाण्डेले स्थानीय सरकार जनताको पहिलो सरकार भएको उल्लेख गर्दै आगामी दिनमा स्थानीय सरकारले गरेका काम र सेवा प्रवाहमा आधारित रहेर अनुसन्धान गर्न पनि आग्रह गर्नुभयो।
 

लोकार्पणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेहीले गणतन्त्र ल्याउन माओवादी र संसदवादी दलहरूको योगदान रहेको बताउँदै यसको रक्षा र सुदृढीकरणको नेतृत्व पनि प्रचण्ड लगायतका नेताहरूले लिनुपर्ने बताउनुभयो।
 

अर्का वक्ता प्रगतिशील लेखक सङ्घका पूर्वअध्यक्ष एवं नेकपा (एमाले) का सल्लाहकार डा. जीवेन्द्रदेव गिरिले “गणतन्त्र अगाडि र पछाडिको नेपालः तुलनात्मक अध्ययन” कृति प्राज्ञिक शोधमा आधारित रहेको बताउँदै पुस्तकले गणतन्त्रका उपलब्धीहरूलाई तथ्य–तथ्यांक र तर्कसहित औचित्य पुष्टि गरेको बताउनुभयो।
 

मार्क्सवादी ज्ञान केन्द्रद्वारा प्रकाशित कृतिमा मनहरि तिमिल्सिना, डा. निमानन्द रिजाल, विशेश्वर कट्टेल, जानुका पराजुली, डा. जन्मजय बन्जाडे, प्रा.डा. सुरेन्द्र गिरी, अशोक पाण्डे, सूर्यबहादुर घिमिरे, मुकुन्द भट्टराई, सम्झना वाग्ले भट्टराई लेखक एवं अनुसन्धानकर्ता हुनुहुन्छ।
 

कृतिमा गणतन्त्र अगाडि र पछाडिको नेपालका विभिन्न सूचकहरूमा तुलनात्मक अध्ययन गरिएको छ। ३२० पृष्ठको पुस्तकको मूल्य ४९९ रहेको छ।

Comments

धेरै पढिएका

डिस्कोर्समा वक्ताहरूः “शिक्षामा लगानी बढाउँ, ऐन छिटो जारी गरौँ”

निबन्ध लेखन प्रतियोगितासम्बन्धी मार्क्सवादी ज्ञान केन्द्रको सूचना

अभिमुखीकरण बैठकः वार्षिक कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय