अभिमुखीकरण बैठकः वार्षिक कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय

 काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रले मार्क्सवादी दर्शनको अध्ययन संस्कृतिलाई अझ सशक्त ढङ्गले अघि बढाउने निर्णय गरेको छ। ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाको अध्यक्षतामा बुधबार साँझ भर्चुअल माध्यमबाट बसेको मार्क्सवादी ज्ञान केन्द्रको केन्द्रीय समिति र प्रदेश पदाधिकारीहरूको संयुक्त बैठकले अध्ययनका कार्यलाई थप सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको हो।
बैठकले अध्ययन संस्कृतिको विकाशका लागि मार्क्सवादी ज्ञान केन्द्रलाई जिल्ला तहसम्म बिस्तार गर्ने निर्णय पनि गरेको छ। ज्ञान केन्द्रले उक्त कार्यको लागि प्रदेश शाखाहरूलाई जिम्मेवारी सुम्पेको छ। प्रत्येक प्रदेश शाखाले आगामी आर्थिक वर्षभित्र तीन जिल्लामा शाखा बिस्तार गर्ने, जिल्लामा समन्वय गर्ने संयन्त्र बनाउने निर्णय गरेको छ।
मार्क्सवादी ज्ञानप्रति रूचि बढाउने गरी ज्ञान केन्द्रका सबै शाखाहरूले अध्ययनका कार्यक्रम सञ्चालन गर्ने, अध्ययन संस्कृतिलाई प्रवर्धन गर्ने रचनात्मक कार्यक्रमको आयोजना गर्ने, पठनपाठनका भौतिक तथा भर्चुअल कार्यक्रम सञ्चालन गर्ने, अध्ययन समूहलाई वैचारिक लेख रचनाको निम्ति प्रोत्साहित गर्ने, मार्क्सवादी दर्शनसम्बन्धी पुस्तक प्रकाशन र प्रचारमा जोड दिने निर्णय भएका छन्।
त्यस्तै, वर्तमान समयका चुनौतीका रुपमा देखापरेका विभिन्न मुद्दाहरूमाथि बहस चलाउने, अध्ययन अनुसन्धानमा जोड दिने लगायतका कामलाई पनि महत्वका साथ अघि बढाउनेमा जोड दिएको छ। बैठकले ज्ञान केन्द्रका विभागहरूलाई सक्रिय तुल्याउने, बैठकका निर्णयहरू शतप्रतिशत कार्यान्वयनमा जोड दिने, सबै शाखाका कामहरूलाई व्यवस्थित गर्ने मूल्याङ्कन र समीक्षा प्रणालीलाई प्रभावकारी ढङ्गले अघि बढाउने निर्णय पनि गरेको छ।
अध्यक्ष तिमिल्सिनाले ज्ञान केन्द्रको दिग्दर्शनले गरेको मार्गदर्शन अनुसार आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिएका छन्। दर्शनको अध्ययन संस्कृतिलाई विकास गर्न आफ्नो सम्पूर्ण क्षमताको उपयोग गरी योगदान गर्न उनले अपिल गरेका छन्। बैठकले विगतको समीक्षा पनि गरेको थियो। भर्चुअल माध्यमबाट सञ्चालन हुने कार्यक्रमलाई नयाँ प्रविधिमा लैजाने र त्यसको लागि आवश्यक अभिमुखीकरण सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

Comments

धेरै पढिएका

लोकप्रियतावाद पुँजीवादी विचारकै एक आयामः वक्ताहरू

अनुसन्धानका बाँकी काम एक महिनाभित्र टुङ्ग्याउने निर्णय

गुगल मिट सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न