निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने निर्णय
काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रले नेपालमा भ्रष्टाचारका चुनौती र नियन्त्रणका प्रयासका सम्बन्धमा अन्तरक्रिया गर्ने भएको छ। सोमबार साँझ भर्चुअलरुपमा संस्थाका अध्यक्ष मनहरि तिमिल्सिनाको अध्यक्षतामा बसेको केन्द्रीय समितिको नियमित बैठकले कार्तिक २४ गते (शनिबार) बिहान 'नेपालमा भ्रष्टाचार : चुनौती र नियन्त्रणका प्रयासहरू' विषयमा भर्चुअल डिस्कोर्स गर्ने निर्णय गरेको हो।
बैठकले 'राजनीतिक रूपान्तरणमा अध्ययन संस्कृतिको महत्त्व' विषयमा निबन्ध लेखन प्रतियोगिता गर्ने निर्णय पनि गरेको छ। प्रतियोगितामा मार्क्सवादी ज्ञान केन्द्रका आजीवन र एसोसियट सदस्यहरूले प्रतिस्पर्धा गर्न पाउने मापदण्ड तय गरेको छ। त्यस्तै मार्क्सवादी ज्ञान केन्द्रद्वारा प्रकाशित 'कम्युनिस्ट ज्ञानकोश' पुस्तक मंसीरको पहिलो साता लोकार्पण गर्ने निर्णय पनि गरेको छ।
बैठकले शोध परियोजनाको काम सम्पन्न गर्ने अख्तियारी ज्ञान केन्द्रका सल्लाहकार डा. निमानन्द रिजाल नेतृत्वको टीमलाई दिने निर्णय पनि गरेको छ। उक्त कार्यको लागि केन्द्रीय समितिले आवश्यक सहयोग र बागमती प्रदेशले व्यवस्थापकीय संयोजन गर्ने छ। तथ्याङ्क सङ्कलनमा सघाउन प्रदेश समितिलाई निर्देशन पनि दिएको छ।
बैठकले तिहारअगाडि प्रदेशको प्रदेश भेला गरी प्रदेश समिति पुनर्गठन गर्ने निर्देशन पनि दिएको छ। भेला पश्चात् प्रदेशको नियमित बैठकमा अघिल्ला कामको समीक्षासहित आगामी योजना निर्माण गर्ने पनि भनेको छ। वार्षिक कार्ययोजना कार्यान्वयनबारे छलफल र निर्णय गर्न सबै विभाग र अध्ययन समूहहरूको बैठक कार्तिक महिनामा सम्पन्न गर्ने भनिएको छ।
त्यस्तै बैठकले स्रोत व्यवस्थापन र अक्षयकोष बिस्तारको कार्ययोजना निर्माण गर्न व्यवस्थापन विभाग र अक्षयकोष व्यवस्थापन समितिलाई निर्देशन पनि दिएको छ। प्रतिवद्धताअनुसारको सहयोग सङ्कलन गर्ने, सदस्य र शुभेच्छुकहरूको सूचि तयार गरी सहयोगका लागि अपिल गर्न दिशानिर्देश गरेको छ। त्यस्तै बैठकले गुगल मिट खरिद गर्ने, गुगलमिट सञ्चालन सम्बन्धी अभिमुखीकरण कक्षा सञ्चालन गर्ने निर्णय पनि गरेको छ। मार्क्सवादी ज्ञान केन्द्रको पोर्टल leftacademy.blogspot.com नियमित अपडेट गर्न र संस्था नवीकरणको काम कार्तिक मसान्तभित्र सम्पन्न गर्ने निर्णय पनि गरेको छ।
बैठकमा अध्यक्ष तिमिल्सिनाले मार्क्सवादी दर्शनको अध्ययनप्रति आम नागरिकको रुचि बढाउने गरी सिर्जनात्मक कार्यमा लाग्न सबै समितिलाई दिशानिर्देश गर्नुभएको छ। उहाँले अध्ययन संस्कृतिको प्रवर्द्धनमा नयाँ आयाम थप्ने लक्ष्यका साथ संस्थालाई चलायमान बनाउन र जीवन्त राख्ने कार्यमा जुट्न आग्रह गर्नुभयो। अध्यक्ष तिमिल्सिनाले केन्द्रीय समितिले तय गरेको वार्षिक कार्यक्रम कार्यान्वयनमा प्रतिबद्ध हुन निर्देशन पनि दिनुभयो।
Comments
Post a Comment