अनुसन्धानलाई तीव्रता दिने कार्यदलको निर्णय


काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रले अध्ययन अनुसन्धानका बाँकी कामलाई तीव्रता दिने भएको छ। शुक्रबार साँझ भर्चुअल माध्यमबाट बसेको ज्ञान केन्द्रको अनुसन्धान कार्य सम्पन्न गर्न गठित कार्यदल र अध्ययन अनुसन्धान समूहका संयोजकहरूको संयुक्त बैठकले अध्ययन अनुसन्धानका बाँकी कामलाई तीव्रताका साथ अगाडि बढाउने निर्णय गरेको हो।

बैठकले मंसीरभित्र शोध कार्य सम्पन्न गर्ने निर्णय गरेको छ। अघिल्लो वर्षमा ज्ञान केन्द्रले विषयगत अध्ययन अनुसन्धानलाई आ-आफ्नो क्षेत्रगत विषयमा अध्ययन अनुसन्धान गर्ने जिम्मेवारी सुम्पेको थियो। ज्ञान केन्द्रले अध्ययन अनुसन्धानको लागि दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, इतिहास, विज्ञान र प्रविधि, नेपाल चिन्तन र बहुविधा साक्षरता समूह बनाएको छ। हरेक समूहले आ-आफ्नो विषयगत क्षेत्रको अध्ययन गरी केन्द्रीय समितिलाई प्रतिवेदन बुझाउन भनिएको थियो।

शुक्रबार बसेको कार्यदलको बैठकमा अध्ययन समूहका कार्यप्रगतिको विषयमा छलफल भएको थियो। बैठकमा अध्ययन समूहका संयोजकहरूले कार्यप्रगतिबारे आ-आफ्नो प्रस्तुति राखेका थिए। अधिकांश अध्ययन समूहले आफ्नो अनुसन्धानका कामहरूलाई अन्तिम चरणमा पुर्‍याइसकिएको रिपोर्टिङ गरेका थिए। बैठकमा ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाले अनुसन्धान बाँकी कार्यलाई यथाशीघ्र सम्पन्न गर्ने कार्यमा केन्द्रित हुन निर्देशन दिनुभएको छ।

अध्यक्ष तिमिल्सिनाको संयोजकत्वमा बनेको कार्यदलमा डा. निमानन्द रिजाल, विश्वेश्वर कट्टेल, डा. सुरेन्द्र गिरि, जानुका पराजुली, रेशम अधिकारी, दुस्यान्त भट्टराई, सागर अधिकारी, राधिका ओझा, त्रिविक्रम ज्ञवाली, मीना नेपाल, आस्था घिमिरे, लक्ष्मण गुरुङ, गोपी ज्ञवाली र रामबहादुर खड्का सदस्य रहनुभएको छ।

ज्ञान केन्द्रले नयाँ पुस्तालाई दर्शनको अध्ययनमा कसरी आकर्षित गर्ने ?, उत्पादन र रोजगारीका आधारहरू, वामपन्थी पार्टीहरूबीच एकता र ध्रुवीकरणका आधारहरू, वर्तमानमा विश्व कम्युनिस्ट आन्दोलन, सामाजिक सञ्जाल नियमन र व्यवस्थित परिचालनको नीति र योजना, कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ता आत्मनिर्भर बन्ने उपायहरू, पाठ्यक्रममा राष्ट्रिय चिन्तन र राष्ट्रिय चिन्तनको विकास लगायतका विषयमा शोध कार्य गरिरहेको छ।

Comments

धेरै पढिएका

लोकप्रियतावाद पुँजीवादी विचारकै एक आयामः वक्ताहरू

अनुसन्धानका बाँकी काम एक महिनाभित्र टुङ्ग्याउने निर्णय

गुगल मिट सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न